News| 2 min read

डेनमार्कमा सातौँ सुपर सिक्स क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम विजयी

Admin
August 9, 2026
डेनमार्कमा सातौँ सुपर सिक्स क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम विजयी

हिमालयन स्पोर्ट्स क्लब डेनमार्कद्वारा जुलाई १८ र १९ गते आयोजित सातौँ सुपर सिक्स क्रिकेट प्रतियोगिताको उपाधि सुन्दर सुदूरपश्चिम कल्याण समाज डेनमार्कको टिम ब्लु ले जितेको छ।


फाइनलमा टिम नाईन्टीसेभेनलाई १८ रनले पराजित गर्दै सुन्दर सुदूरपश्चिमको टिम ब्लुले उपाधि आफ्नो नाममा लेखाएको हो।

फाइनल खेलमा पहिले ब्याटिङ गरेको सुन्दर सुदूरपश्चिमको टिम ब्लुले निर्धारित ६ ओभरमा ६८ रन बनाएको थियो। ६९ रनको विजयी लक्ष्य पछ्याएको टिम नाईन्टीसेभेनले निर्धारित ६ ओभरमा ५० रन मात्र बनाउन सकेपछि सुन्दर सुदूरपश्चिमको टिम ब्लु १८ रनले विजयी बन्दै च्याम्पियन बनेको हो।


फाइनल खेलमा सुशील देवकोटाले उत्कृष्ट बलिङ गर्दै २ ओभरमा मात्र ६ रन खर्चेर १ विकेट लिए। प्रतियोगिताको उत्कृष्ट बलरको उपाधि सुन्दर सुदूरपश्चिमका तीव्र गतिका बलर विनोद खैरले जिते भने उत्कृष्ट ब्याट्सम्यानको उपाधि पोर्चुगल समाज, डेनमार्कका विशाल पौडेलले हात पारे। त्यसैगरी, प्रतियोगिताको म्यान अफ द सिरिज टिम नाईन्टीसेभेनका कप्तान कुश खड्का घोषित भए।

विजेता टिमका कप्तान जेम्स कार्कीलाई हिमालयन स्पोर्ट्स क्लबका अध्यक्ष दीपेन्द्र बिष्टले ट्रफी प्रदान गरेका थिए। प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम क्लबका क्रिकेट संयोजक कृष्ण चन्दले सञ्चालन गरेका थिए।


सुन्दर सुदूरपश्चिम कल्याण समाज डेनमार्कका निवर्तमान अध्यक्ष कृष्ण धानुकले टिम म्यानेजर तथा खेलाडीका रूपमा भूमिका निर्वाह गरेका थिए।


प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको थियो। सुन्दर सुदूरपश्चिम कल्याण समाज डेनमार्कको टिम ब्लुले उपाधि जित्दा समाजको अर्को टोली टिम येलो भने क्वार्टरफाइनलबाटै बाहिरिएको थियो।


नेपाली समुदायलाई खेलमार्फत एकताबद्ध गर्ने उद्देश्यले हिमालयन स्पोर्ट्स क्लब डेनमार्कले यस क्रिकेट प्रतियोगिताको सुरुआत गरेको हो।


यसैबीच, सुन्दर सुदूरपश्चिम कल्याण समाज डेनमार्कले आगामी सेप्टेम्बरमा पनि क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ। समाजका अध्यक्ष निरज कठायतका अनुसार सेप्टेम्बर १९ र २० गते कोपनहेगन क्रिकेट क्लबको यही मैदानमा समाजको आयोजनामा प्रतियोगिता सञ्चालन हुनेछ।



Credit Source: The Everest Post

Related Topics

newscricketwinner

Enjoyed this update?

Join our newsletter to get the latest community news, cultural stories, and event invites delivered to your inbox.